
देबेन्द्र भट्टराई-गिरिश गिरी/ तस्बिरः राजेश के.सी.
आफैंमा छन्द कविजस्ता लाग्ने गायक कुमार सुब्बा अर्का कवि अगमसिंह गिरीलाई उद्धृत गर्दै सुनाइरहेका थिए । प्रसङ्ग थियो, नेपाल र नेपाली मायामोहको । ‘हत्तेरी हो भाइ’, साना चिम्सा आँखा बिस्तारित गर्दै आठ वर्षछि दार्जिलिङबाट काठमाडौं उत्रेका कुमार सुब्बा भन्दै थिए, ‘म नेपालको ऋण भारले यत्ति थिचिएको छु कि म त्यो भार यो जुनीमा चुकाउन सक्दिन होला ।’ कुमारले भने, ‘रेडियो (नेपाल) ले मलाई उपयुक्त ठाउँ दियो, म कुमार सुब्बा भनेर चिनिन सकें । ‘साना काँटका दाजुभाइजस्ता लाग्ने कर्म योञ्जन र कुमार सुब्बा शनिबार एकैसाथ पुल्चोकमा भेटिए । ‘अब हाम्रो जोडी नेपालयको पलेंटीमा बस्नेछ,’ हषिर्त स्वरमा भन्दै थिए कर्म, ‘यो पनि संयोग र अवसर दुवै हो । ‘यसअघि दार्जिलिङमा एकल गायन कार्यक्रम गरिसकेका कुमारको नाम एकैसाथ कर्म योञ्जन र मनबहादुर मुखियासँग पनि जोडिने गरेको छ ।
‘हो त नि, म ०२८ सालमा काठमाडौं आउँदा हाम्रो ‘अनि देउराली रुन्छ’ नाटकका गीतसंगीत चल्तीमा थिए । म त्यसबेला काठमाडौंको टोलटोलमा गाउँदै हिँडेको थिएँ,’ कुमारले पुराना दिन सम्झे । उमेरमा ५० बर्ष धेरैअघि नाघेर पनि काममा बुढ्यौली अनुभव गरिरहेका छैनन् कुमार । ‘पहिला कर्म-गोपालको जोडी थियो’, सँगै बसिरहेका कर्म योञ्जन भन्दै थिए, ‘अहिले कर्म-कुमारको जोडी बनेको छ ।
मेरो स्वरमा झुपडी र दरवारको कथा
सुनाइ हिड्छुँ लर्डाईं र पीरतीको व्यथा
फूल रोए शित हुन्छ, मैले रोए गीत
खुकुरीको खिया मात्र नेपालीको जीत’
रेडियो नेपालबाट हजारौं पटक बजेको एउटा गीतमा सेन्सर गरिएको यो माथिल्लो अन्तरा कहिल्यै सुनिएको थिएन । अविष्मरणीय गीत ‘सारंगीको तारले मेरो मनको गीत गाउँछ’ ले सायद पहिलो पटक नेपाली भूमीमा यसपाली मात्र पूर्णता पायो ।’मुनामदन’देखि ‘मालती मंगले’सम्मका गीति नाटक आफैंमा चर्चित भए । तर आजसम्म रङ्गमञ्च बाहिर पनि तिनका गीतले बेग्लै पहिचान बनाएको यो जस्तो इतिहास अरु कसैको छैन । सत्तरीको दशक ताका नाटक बोकेर दार्जिलिङबाट नेपाल आएका मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ का ‘सारंगी’ बाहेक पनि ‘ए फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि’ देखि ‘देउरालीका ठिटी हो नक्कल पार्नु पर्दैन’ सम्मका गीत सुनेर हामीकहाँ एउटा सिंगो पुस्ता हुर्किएको छ ।कार्यक्रम तिनै पुराना दिनको सेरोफेरोलाइ फेरी उप्काउँदै अघि बढेको थियो ।
यस्तैमा कुमारले ‘सारंगी’ गाइसकेपछि संसदबाट ओर्लिएर नेपालयको ‘आर शाला’ पुगेका रघुजी पन्तले औंलो ठड्याउँदै नियमापत्ति गरे । ‘यो गीतमा उतिबेला एउटा अन्तरा नै सेन्सर गरिएको थियो’ सांसद पन्त सोधिरहेका थिए,’अहिले किन त्यो अन्तरा सुनाइएन ?’ सुब्बाले दोहोर्याएर यो अन्तरा थप्दै गीत सुनाएपछि हल लामो समयसम्म तालीले गुञ्जिएको थियो । चाल पाउने कोहि होलान् भन्ने लागेकै थिएन’ यथावत गाउने निर्णय भएको सुनाउँदै कुमारले भनेका थिए,’ यि कुराहरु छुट्दा गीतको भाव मरेको थियो ।’अन्त्यमा यहि गीत तेश्रो पटक पनि कुमारले गाइदिनु पर्यो । अनि त्यसैको आवेशमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित कार्यक्रम सकिएपछि सांसद पन्तलाइ कुमार र कर्मका छेउमा लगेर फोटो खिंचाउँदै थिए ।’धेरै समय बाद मैले हुबहु गाउन पाएँ’ लजाएर मुस्काउँदा मुस्काउँदै बुढेसकालको छेउ तिर पुगेका कुमार आँखा चिम्सो पार्दै भनिरहेका थिए,’ अलग पारिएको अंश जोड्न लगाएकोमा धन्यवाद ।