अन्तरिम सरकार आज गठन
ठूला चार दलबीच मन्त्रालय बाँडफाँडमा सहमति भएपछि आज प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सानो आकारको अन्तरिम सरकार गठन गरिने भएको छ। दलबीच उपप्रधानमन्त्रीको विषयमा भने अझै विवाद रहेको बालुवाटार स्रोतले जनाएको छ।
माओवादीलाई उपप्रधानमन्त्री दिन प्रधानमन्त्री कोइराला हिजै सहमत भए पनि देशी/विदेशी शक्तिको चलखेलका कारण काङ्ग्रेस, एमाले, जनमोर्चालाई समेत उपप्रधानमन्त्री राखिनुपर्ने दबाब बढेको स्रोतले बताएको छ।
सम्भवतः आज बन्ने अन्तरिम सरकारमा काङ्ग्रेसले प्रधानमन्त्रीसहित रक्षा र गृहमन्त्रालय पाउने भएको छ भने एमालेले अर्थ, परराष्ट्रलगायतका मन्त्रालय पाउनेछ। त्यस्तै माओवादीले उपप्रधानसहित सञ्चार, स्थानीय विकास मन्त्रालय पाउने पक्कापक्की छ। काङ्ग्रेस -प्रजातान्त्रिक)ले भने पुरानै चार मन्त्रालय पाउने बताइएको छ।
अन्तरिम सरकारमा दलका तर्फबाट क-कसलाई सामेल गर्ने र सरकारको साझा नीति कार्यक्रम कस्तो रहने भन्ने विषयमा छलफल गर्न सबै दल आज बिहान आन्तरिक बैठकमा केन्द्रित रहेका थिए। आठ दलको बैठक बिहान १० बजेदेखि बस्ने भनिए पनि दलका नेता बालुवाटार नपुगेकाले १२ बजेपछि मात्रै आठ दलको बैठक बस्न सक्ने बालुवाटार स्रोतले बिहान महानगरलाई बतायो।
आज बस्ने आठ दलको बैठकले अन्तरिम सरकारको छिनोफानो लगाई साझा नीति कार्यक्रम पारित गरेपछि आजै संसद्बाट अन्तरिम सरकार गठन गरिनेछ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वर्तमान सरकार विघटन गरेको घोषणा गरेपछि संसदबाट अन्तरिम सरकार गठन हुने र दिउँसो २ बजे प्रधानमन्त्रीले शपथग्रहण गर्ने कार्यक्रम रहेको संसद् सचिवालय स्रोतले जनाएको छ।
आठ दलको बैठक बस्न ढिलाइ भएकाले सो समय केही पर लम्बिन सक्ने स्रोत बताउँछ।