वाईसीएलद्वारा वृद्धवृद्धालाई निकालेर घर कब्जा
कृष्ण भट्टराई, (सुनसरी)। माओवादीको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले इटहरी नगरपालिका वडा नं. १ बस्ने मेहरमान लिम्बूको घरायसी समस्यामा हस्तक्षेप गरी उनका ७४ वर्षीय वृद्ध आमाबाबुसहितका परिवारलाई सबै सामान फालेर घरबाट निकाली घर कब्जा गरेका छन्। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् इटहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडित मेहरमान, उनका ७२ वर्षीय बुबा मानबहादुर लिम्बू र ७५ वर्षीया आमा आइतीमायाले वाईसीएलले आफूहरूमाथि ठूलो ज्यादती गरेर घरबाट निकालेकाले आफूहरू अहिले आफन्तको शरणमा बस्न बाध्य रहेको बताए। वृद्ध मानबहादुरले २०५४ सालमा हत्या भएका आफ्नो जेठो छोरा धनबहादुर लिम्बूको नाममा रहेको घरजग्गाको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा साहिँला छोरा मेहरमानलाई गत जेठ २३ गते राति वाईसीएलले कुटपिट गर्दै अपहरण गरी रातभर बन्दी बनाएर भोलिपल्ट कालोमोसो दली जुत्ताको माला लगाएर सामाजिक बेइज्जत गरी आफ्नो घरका सम्पूर्ण सामान फ्यालिदिएर घरनिकाला गरेको बताए। घरका सामान फाल्ने क्रममा आफ्नो १ लाख रुपियाँभन्दा बढी नगद र ७/८ तोला सुनका गरगहना हराएको मानबहादुरले गुनासो गरे। नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध नेवाःपुच, नेपाल तामाङ घेदुङ, किराँत याक्थुङ् चुम्लुङ् , किराँत राई यायोख्खा, नेपाल शेर्पा संघ, थारू कल्याणकारिणी सभा, धिमाल उत्थान समाजलगायत १० भन्दा बढी जातीय संघसंस्थाहरूले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त ज्यादती गर्ने वाईसीएलका कार्यकर्तामाथि कडा कारबाही गरेर पीडितलाई घरमा निर्भयका साथ बस्न सक्ने वातावरण नबनाए आन्दोलनमा उत्रने चेतावनी दिए। काजीलाल श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष तर्ीथराज गौतम, नागरिक समाज इटहरीका सचिव डानियल सुब्बा, नेपाली कांग्रेसका अमरबहादुर गौली, जनजाति महासंघकी सचिव उषा लिम्बूलगायतले जिम्मेवार राजनीतिक दल नेकपा माओवादीको भातृ संगठन वाईसीएलले आफ्नो क्रियाकलाप नसुधारे उक्त संगठनप्रति सर्वसाधारणको आक्रोश बढ्ने र अन्तत माओवादी पार्टीलाई ठूलो राजनीतिक नोक्सानी हुने सम्भावना बताउँदै वाईसीएलले आफ्नो छविलाई उच्च राख्न यस्ता क्रियाकलापबाट टाढा रहनुपर्ने सुझाव दिनुभयो।