नेपालमा डेढ लाख दुर्व्यसनी
विश्वभर नै समस्या बनेको लागू औषधको प्रयोग नेपाली युवाहरूमा तीव्ररूपमा बढ्दै गएको पाइएको छ। लागू औषधको यो समस्यालाई कम गर्न तीव्र प्रयास हुनुपर्नेमा विज्ञले जोड दिएका छन्।
लागू पदार्थ प्रयोग र ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा यसका प्रयोगकर्ताको संख्याबारे सरकार र गैरसरकारी संस्थाका आ-आफ्नै तथ्यांक छन्।
नेपालमा करिब १ लाख ५० हजार यसका प्रयोगकर्ता रहेको अनुमान गरिए पनि वास्तविक आँकडा आज लागू औषधविरुद्ध अन्तर्राष्ट्रिय दिवस पारेर गृह मन्त्रालयले सार्वजनिक गर्ने भएको छ।
तथ्यांक विभागले पाइलट सर्भेको आधारमा तयार पारेको तथ्यांक आज मंगलबार सार्वजनिक गरिने गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखाका अधिकृत सुवेद पोखरेलले नेपाल समाचारपत्रलाई बताउनुभयो।
खास गरी लागू पदार्थको सेवन र त्यसपछि हुने अपराध तथा विश्वभर खतराको रूपमा देखिएको एचआईभी/एड्सको संक्रमणका कारण यो विषयले विश्वभर चिन्ता पैदा गरेको छ।
लागू औषध र अपराधसम्बन्धी राष्ट्रसंघीय कार्यालयका अनुसार अहिले विश्वभर २० करोड लागू औषधका प्रयोगकर्ता छन्। लागू औषधको विश्वव्यापी व्यापार सञ्जाल पनि अहिले धेरै सरकारहरूका लागि टाउको दुखाइको विषय बनेको छ। सम्बद्ध व्यक्तिहरूको भनाइमा नेपालमा पनि अब लागू औषधको समस्याले गम्भीर रूप लिँदै छ।
विशेष गरी स्कुलमा पढ्ने विद्यार्थीहरूले कक्षा ८ बाट नै लागू औषधको सेवन थाल्ने गरेको पाइएको लागू औषधविरुद्ध कार्यरत नार्कोनन ड्रग प्रिभेन्सन सेन्टरका संस्थापक वसन्तराज कुँवर बताउनुहुन्छ।
‘एक जना विद्यार्थीले ४५ जनासम्मलाई लागू औषध सेवन गर्न प्रेरित गरेको पाएको छु, यो त साह्रै नै गम्भीर विषय हो’ -उहाँले भन्नुभयो। लागू औषधविरुद्ध सरकारी क्रियाशीलता अपर्याप्त रहेको बताउँदै उहाँले भन्नुभयो- ‘सरकार सप्ताहव्यापी कार्यक्रममा मात्र सीमित छ तर समस्या निकै अघि बढिसकेको छ।’
नेपाली युवाहरूले गाँजा, चुरोटबाट विस्तारै लागू औषधको सेवन थाल्ने गरेको पाइएको छ। उनीहरू क्रमशः विभिन्न खालका टयाब्लेटहरू हुँदै ब्राउन सुगर र सूईसम्मको प्रयोग गर्छन्। विद्यार्थीहरू र सडक बालबालिका नेपालका सबैभन्दा जोखिममा रहेका वर्ग हुन्। युवाहरू आफूलाई परेको समस्याको निरूपण गर्न, दुखाइ कम गर्न, असजिलोपन बिर्सन तथा साथीभाइको संगतमा परेर लागू पदार्थको सेवन गर्छन्। विभिन्न गैरसरकारी संस्थाको तथ्यांकअनुसार नेपालमा सूईको माध्यमबाट लागू औषध प्रयोग गर्नेहरूमध्ये आधाभन्दा बढी एचआईभी संक्रमित छन्। काठमाडौं, पोखरा, धरानलगायतका शहरी क्षेत्रमा यो समस्या जटिल बनिसकेको बताइन्छ। समस्यासँग जुध्न नेपालले गत वर्ष सार्वजनिक गरेको नीति कार्यान्वयनका लागि गृह मन्त्रालयले कार्यान्वयन रणनीति बनाउन लागेको अधिकृत पोखरेलले बताउनुभयो।
सरकारले लागू औषधविरुद्ध जनचेतना जगाउन अभियान चलाउने तथा समस्या कम गर्न एक दर्जनभन्दा बढी गैरसरकारी संस्थाले गर्दै आएको उपचार र पुनः स्थापनाको कामको अनुगमन लागू औषध नियन्त्रण शाखाले गरिरहेको उहाँले बताउनुभयो। मन्त्रालयले लागू औषधको व्यापार र ओसारपसार नियन्त्रण गर्ने, लागू औषधको माग कम गर्ने तथा स्थानीय निकायहरूलाई यस कार्यमा लगाउने पहल थालेको उहाँले बताउनुभयो।
लागू औषधविरुद्धको राष्ट्रिय अन्तर्राष्ट्रिय पहलकै क्रममा आज लागू औषध र अपराधविरुद्धको राष्ट्रसंघीय निकाय (यूएनओडीसी) को आह्वानमा लागू पदार्थको दुर्व्यसन र ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। यस क्रममा नेपालमा गृह मन्त्रालयका साथै विभिन्न संघसंस्थाले कार्यक्रमको आयोजना गर्ने बताइएको छ।