पेस्तोलसहित लिम्बुवान कार्यकर्ता पक्राउ
प्रहरीले सोमबार धरानबाट हतियार र लागूऔषधसहित लिम्बुवान कार्यकर्तालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएका प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित लिम्बुवान कार्यकर्ता प्रताप लिम्बूलाई पक्राउ गरेका हुन् ।
सुनसरीको पाँचकन्या-५ का २८ वषर्ीय लिम्बूको साथबाट कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने २ थान गोली, चुप्पी, नाइट्रोजन र स्पास्मोप्रोक्सी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख कोमल शाहले लिम्बूसँग हतियार रहेको सूचना पाएर लिम्बूलाई धरानको भानुचौक नजिकबाट पक्राउ गरिएको बताउनुभयो । उहाँले लिम्बू पक्राउ परेपछि पाँचकन्यास्थित उनको घरबाट हतियार बरामद भएको जानकारी दिनुभयो ।
शाहले पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना ऐनअर्न्तर्गत कारवाही चलाउने बताउनुभएको छ । पाँचकन्यास्थित जिविसको ढाटमा बसेर लिम्बुवानका लागि कर संकलन गर्ने गरेको र आफू सङ्घीय लिम्बुवान राज्य परिषद्को पाँचकन्या संयोजक भएको लिम्बूले बताएका छन् ।
उनले जोगबनीबाट लामो समय अघिदेखि लागूऔषध ल्याएर सेवन गर्ने गरेको समेत बताएका छन् । लिम्बूले बरामद हतियार भने आफूले बाटोमा भेटेर घरमा राखेको दावी गरेका छन् । उता सङ्घीय लिम्बुवान राज्य परिषद्ले भने हालसम्म कुनै प्रतिक्रिया र्सार्वजनिक गरेको छैन

