जीवितको मृत्यु दर्ता गरेर जग्गा बिक्री
फागुन ९ - यहाँकी एक महिलाले पतिको मृत्यु भएको कीर्ते कागज बनाएर घरजग्गा आफ्नो नाममा नामसारी गरेको पाइएको छ । मकालु-५ का ५५ वषर्ीया लाक्पाछिकी शेर्पाले पति वाङ्छेको मृत्यु दर्ता गरेर जग्गा आफ्नोमा सारी दोस्रो विवाह गरेकी हुन् । पति रोजगारीका लागि भारत गएको मौका पारेर लाक्पाछिकीले पतिको नामको ७५ रोपनी जग्गा र घर आफ्नो नाममा सारी बिक्री गरेकी हुन् । वाङ्छेका ४ छोरासमेतले आमालाई जग्गा नामसारी गर्न सघाएका थिए । लामो समयपछि फर्केका वाङ्छेले भर्खरै आफ्नो मृत्यु भएको देखाएर पत्नीले सबै सम्पत्ति आफ्नो नाममा गरेको थाहा पाएका थिए । आफूले सम्पत्ति हडप्ने श्रीमती र छोराविरुद्ध कारबाहीको माग गर्दै अदालत जाने बताएपछि छोराहरूले मार्ने धम्की दिएको वाङ्छेले बताए । उनले जीवनरक्षाका लागि प्रशासनसँग माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद गौतमले शेर्पाको सुरक्षाका लागि प्रहरीलाई जिम्मा दिएको बताए । वाङ्छेको मकालु गाविसले २०६१ फागुन २१ गते मृत्यु दर्ता प्रमाणपत्र दिएको थियो । प्रमाणपत्र गाविस सचिव गोविन्दप्रसाद घिमिरेले दिएका थिए । मालपोत अधिकृत सीताराम पोख्रेल नामसारी भइसकेको जग्गा फिर्ता गर्न अदालतले आदेश दिनुपर्ने बताउँछन् । उनले आफ्नै रायअनुसार वाङ्छेलाई अदालत पठाउन लागेको जानकारी दिए ।



