सरकार गठनमा ढिलाइ भएकामा सभासदद्वारा चिन्ता
संवाददाता सभासदहरुले नयाँ सरकार गठनमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । व्यवस्थापिका-संसदको हैसियतमा आज आइतबार बसेको संविधानसभाको बैठकको शून्य समयमा बोल्दै सभासद्हरुले सरकार गठन प्रक्रियामा ढिलाइ हुँदा मुलुकमा सामाजिक असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । सभासद्हरुले पेट्रोलियम पदार्थको बिक्री वितरणमा सहजताको व्यवस्था गर्नुपर्ने, बाढीपीडितलाई राहत व्यवस्था गर्नुपर्ने, किसानको ऋण मिनाहा गर्नुपर्ने तथा हुलाकी सडक निर्माण गर्नुपर्ने माग गर्नुभएको थियो । यसैगरी सभासद्हरुले ‘सोफी’ नामक मदिरा नष्ट गर्नुपर्ने, डोटी जिल्लामा रहेका दलितको अधिकार सुरक्षित हुनुपर्ने, घाइते, अपाङ्ग र सहिद परिवारलाई राहत वितरण गर्नुपर्ने, अपाङ्ग आयोगको गठन गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।